अघि-अघि बिजुली चोर, पछि-पछि प्रहरी !
१८ माघ, काठमाडौं । गत साता प्रहरीले विद्युत प्राधिकरणकै एक दर्जन कर्मचारीहरुलाई विद्युत चोरीको आरोपमा समात्यो । अहिले उनीहरु थुनामै छन् । आखिर कसको सुराकीका आधारमा प्रहरीले ‘बिजुली चोर’ समात्यो ? यसको भित्री रहस्य भने निकै रोचक रहेछ ।
भ्रष्टाचार एवं चोरीचकारी नियन्त्रण गर्न एउटा बेनामे चिठी नै पर्याप्त हुने यो घटनाले स्पष्ट पारेको छ ।
बेनामे चिठीले चिनायो बिजुली चोर
दशैंअघिको घटना हो, विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको कार्यकक्षको टेबलमा एक पत्र भेटियो । पत्रमा विभिन्न व्यक्तिमाथि विद्युत चोरी गरी कमिसन खाने गरेको आरोप थियो । पत्र लेख्ने मान्छेको नाम थिएन । पत्र बेनामे थियो ।
कसैले राखिदिएको बेनामे पत्रमा कैयन खोज्न लायक तथ्यहरु थिए । पत्रको निष्कर्ष थियो- विद्युत चोरीमा प्राधिकरणकै कर्मचारीको पनि संलग्नता छ । पत्र बेनामे नै भए पनि त्यसमा केही ‘बिजुली चोर’ हरूको नाम खुलाइएको थियो ।
उता एसएसपी सर्वेन्द्र खनाललाई पनि दिनदिनै विभिन्न सूचनाहरु आइ रहेका थिए । धाराका मिटर र विद्युतका मिटरहरुमा हुने बदमासीका बारेमा उनलाई धेरैले सुनाएका थिए । तर, चोर समात्न यथेष्ट प्रमाण उनीसँग थिएन ।
बेला-बेलामा एसएसपी खनाल र प्राधिकरणका घिसिङबीच भेट हुँदै आएको थियो ।
करिब एक महिना अघि घिसिङले आफ्नो टेबलमा भेटिएको बेनामे पत्र एसएसपी खनाललाई बुझाइदिए । एसएसपी खनालको हातमा परेको बेनामे पत्रमा विभिन्न स्थानमा विद्युत चोरीमा संलग्न प्राधिकरणका कर्मचारीहरुको नामसमेत उल्लेख गरिएको थियो ।
यो पत्र एसएसपी खनाललाई बुझाउनुअघि कुलमान घिसिङले उर्जा मन्त्री जनार्दन शर्मालाई पनि पत्रका बारेमा जानकारी गराएका थिए । उर्जा मन्त्रीले पनि घिसिङलाई यसमा तत्काल अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।
तर कुलमानलाई त्यसो गर्न सहज थिएन । किनभने सो पत्रमा उल्लेख गरिएको बिजुली चोरको सूचीमा मन्त्रीका आफ्नै पार्टीका कर्मचारी युनियनका व्यक्तिहरु पनि थिए । कांग्रेस र एमालेनिकट ट्रेड युनियनका नेताहरुको नाम त्यसमा थियो । घिसिङका त कर्मचारीहरु नै यसमा थिए । त्यसैले उनीहरुमाथि कारवाही गर्दा घिसिङमाथि चर्को बिरोध हुने खतरा थियो ।
अन्ततः कुलमानले सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने नयाँ जुक्ति निकाले । र, सो बेनामे पत्र एसएसपी खनालकहाँ पुग्यो ।
बिजुली चोरको गाडी अघि-अघि, प्रहरी पछि-पछि
बेनामे पत्र हात परेपछि एसएसपी खनालले त्यसमा उल्लेख भएका ब्यक्तिहरुको निगरानी गर्ने योजना बनाए । र, यसैअनुरुप उनले सुरक्षाकर्मीहरुलाई छद्म भेषमा फिल्डमा पठाएर पत्रमा उल्लेखित कर्मचारीमाथि निगरानी सुरु गरे ।
विद्युत प्राधिकरणको बालाजुस्थित कार्यालयका कर्मचारी गाडी लिएर मिटर बिगार्न हिँड्ने गरेको पत्रमा उल्लेख थियो ।
तीन साताअघि एसएसपी खनालले पठाएको टोली विद्युत प्राधिकरणको बालाजुस्थित कार्यालयमा छद्म भेषमा पुग्यो । त्यहाँ अबेरसम्म कर्मचारीको आवत-जावत हुने र कार्यालय समय नभएपनि कर्मचारीहरु आउने-जाने गरेको देखिएपछि प्रहरीले थप चासो बढायो ।
राति रातिसमेत कर्मचारीहरुको गाडी कार्यालयमा आउने गरेको देखेपछि ती व्यक्तिहरु कहाँ-कहाँ जान्छन् भनेर प्रहरीले निगरानी गर्यो । र, त्यही प्रयासबाट प्रहरीले बिद्युत चोरीमा संलग्नहरुलाई पत्ता लगायो ।
प्रहरीले निगरानी राख्दै गर्दा बा ५ च ३४५१ को गाडी राति ओहोर- दोहोर गरेको भेटियो । खोज्दै जाँदा उक्त गाडीमा प्राधिकरणको बालाजुस्थित कार्यालयका सुपरभाइजर सुमन श्रेष्ठ चढ्दा रहेछन् ।
प्रहरीले श्रेष्ठलाई पछ्यायो । उनी मिटर बिगारेर कुम्ल्याएको कमिसनको पैसाले किनेको निजी गाडी लिएर बौद्ध, जोरपाटी, कोटेश्वर, बानेश्वर जस्ता स्थानमा सञ्चालित साना-साना उद्योग धन्दामा जाने गरेका रहेछन् ।
यही क्रममा अघिल्लो बिहीबार बिहान ९ बजे श्रेष्ठ इमाडोल पुगे । जहाँ उनलाई प्रहरीले पछ्याइरहेको थियो । उनले आफ्नो गाडीमा रहेका सामानहरु बोकेर इमाडोलको पुल नजिकैको एउटा घरमा छिरे । त्यहाँ विद्युत मिटरमा के के काम गरे, प्रहरीले भित्रको गतिविधि देख्न सकेन । तर, मिटर बक्समा उनले काम गरिरहेको भने देखियो । सुरक्षाकर्मीले तस्वीर लिन खोजे । तर, श्रेष्ठको पछाडिको भाग मात्रै देखियो र टाढा भएकाले स्पष्ट पनि आएन । यस्तो तस्वीर दसी प्रमाणका लागि खासै काम लाग्ने भएन ।
विहीबार असफल भएपछि शुक्रबार पनि प्रहरीले श्रेष्ठलाई ‘फलो’ गर्यो । श्रेष्ठ अघिल्लो दिनजस्तै बिहान ९ बजे नै अनामगरको रामेश्वर मिठाई पसलमा छिरे । त्यहाँ उनले मिटर खोले र उल्टो घुमाइदिए अनि फेरि सिल लगाए ।
मिठाइ पसलको यो दृश्य भने प्रहरीले क्यामेरामा भिजुलका रुपमा कैद गरिसकेको थियो । र, त्यही प्रमाणका आधारमा अहिले श्रेष्ठसहित यस्तै धन्दामा संलग्न कैयन कर्मचारीहरु प्रहरीको नियन्त्रणमा छन् । मिठाइ पसले पनि समातिएका छन् ।
यसरी एउटा बेनामे चिठीकै आधारमा यति ठूलो बिजुली तस्करीको जालो तोड्न सम्भव भयो । हामीले पनि आफूले देखेको बेथितिबारे यसैगरी बेनामे पत्र लेखेर भए पनि ? प्रहरी प्रशासनलाई सघाउने पो हो कि ? जसको सहायताले राज्यको करोडौं रकम नोक्सानी हुनबाट बचोस् ।
Comments
Post a Comment